काठमाडौं- नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीस्थित नेपालटारमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ। स्वागत ट्रेडिङ ग्रुपमा स्थापना गरिएको उक्त शोरुमको औपचारिक उद्घाटन माननीय प्रकाश मान सिंह राउतको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो।
उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झा तथा क्षेत्रीय बिक्री प्रमुख किरण राज पन्तसहित कम्पनीको टोलीले अतिथिहरूलाई स्वागत गरेका थिए।
शहरीकरण तथा आवासीय र व्यावसायिक भवन निर्माण गतिविधिको बढ्दो मागलाई ध्यानमा राख्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ।
रौतहटको चन्द्रनिगाहपुरमा अवस्थित प्राइम टायल्स उद्योगले वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्दै आएको छ। कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्दै आएको र हालै नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह ६१७ प्राप्त गरेको जनाएको छ।
नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर र फिनिसिङका सयौँ प्रकारका टायल्स उपलब्ध छन्। आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि उपयुक्त फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका विकल्पहरू एकै स्थानमा उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूलाई डिजाइन सुझाव र प्राविधिक परामर्श प्रदान गर्ने केन्द्रका रूपमा पनि विकास गरिएको हो।
प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको र आगामी दिनमा देशभर बिक्री सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।



























































