काठमाडौं – नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरूलाई डिजिटल स्टोरीटेलिङ र कन्टेन्ट निर्माणसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले टिकटक र नेपाल पर्यटन बोर्ड (एनटीबी) बीच सहकार्य भएको छ।


ADVERTISEMENT


दुवै संस्थाले संयुक्त रूपमा भिजिट नेपाल अभियान सञ्चालन गर्दै नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन्। अभियानले चर्चित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका सुन्दर स्थानहरूको प्रचारप्रसारमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


ADVERTISEMENT

# # #


तीन दिनसम्म सञ्चालन हुने कार्यशाला शृंखलामा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू सहभागी हुनेछन्। सहभागीहरूले छोटो भिडियो निर्माण, डिजिटल स्टोरीटेलिङ, दर्शकसँगको अन्तरक्रिया, सामाजिक सञ्जालमा पहुँच विस्तार, ब्रान्ड सहकार्य तथा जिम्मेवार कन्टेन्ट विकासका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्।

कार्यक्रममार्फत पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना–मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनहरू डिजिटल माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गराइने जनाइएको छ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले डिजिटल प्लेटफर्महरूले मानिसहरूको यात्रा र गन्तव्य छनोट गर्ने तरिकामा परिवर्तन ल्याएको उल्लेख गर्दै यस सहकार्यले पर्यटन क्षेत्रका व्यवसायी र कन्टेन्ट क्रिएटरहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। उनले स्थानीय प्रतिभालाई व्यावसायिक कन्टेन्ट क्रिएटरका रूपमा विकास गर्दै डिजिटल अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख Firdous Mottakin ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यले नेपालको अनुपम प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउन मद्दत गर्ने बताए।

कार्यशालामा अन्तरक्रियात्मक सिकाइ सत्र, व्यावहारिक कन्टेन्ट निर्माण प्रशिक्षण तथा विज्ञहरूसँग अनुभव आदानप्रदानका कार्यक्रमहरू समावेश हुनेछन्। आयोजकका अनुसार यसले सहभागीहरूलाई आकर्षक र प्रभावकारी कन्टेन्ट निर्माण गरी डिजिटल माध्यममार्फत व्यापक दर्शकसम्म पुग्न आवश्यक ज्ञान र अनुभव प्रदान गर्नेछ।

विश्वकै अग्रणी छोटो भिडियो प्लेटफर्मका रूपमा परिचित टिकटकले सिर्जनशीलतालाई प्रोत्साहन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ विश्वभर आफ्नो सेवा विस्तार गर्दै आएको छ।