काठमाडौं-  विद्या भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन अहिले नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको बताएकी छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन्।


ADVERTISEMENT


पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर दिएको उल्लेख गर्दै त्यस सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने धारणा राखिन्। उनले कुनै एक निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नहुने बताइन्।


ADVERTISEMENT

# # #


उनले बदलिँदो पुस्ता, सामाजिक संरचनामा आएको रूपान्तरण, प्रविधिको तीव्र विकास, युवा पुस्ताका नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राखेर समयअनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्दै जानुपर्नेमा जोड दिइन्।

भण्डारीले बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकताअनुसार नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता तथा रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई आत्मसात् गर्नुपर्ने बताइन्। आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन, नवप्रयोग र जनतासँगको जीवन्त सम्बन्धमार्फत कम्युनिस्ट आन्दोलनको सान्दर्भिकता, प्रभावकारिता र भविष्यप्रतिको विश्वासलाई अझ सुदृढ बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरिन्।