काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाउँदै रोजगारी, सुशासन र अवसरको सुनिश्चिततासहित विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।


ADVERTISEMENT


संसद दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचारको अन्त्य, सुशासनको प्रवर्द्धन र तीव्र विकासमार्फत समृद्ध नेपालको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका छन्। उनले देश विकासमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञान तथा ऊर्जालाई एकसाथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


सभामुख अर्यालले युवाको अपेक्षाअनुसार द्रुत गतिमा विकास निर्माणका काम अघि बढाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच प्रभावकारी समन्वय र एउटै गतिमा काम हुन आवश्यक रहेको बताएका छन्। संविधानको अक्षरशः पालना गर्दै कानुनी शासनलाई थप सुदृढ बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

नेपालमा वि.सं.२०७४ असार १६ गते संघीय संसदको पहिलो बैठक बसेको सम्झनामा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइँदै आएको छ।