काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका विभिन्न निकायले आफ्नो स्वतन्त्रता गुमाउँदै गएको भन्दै संविधानको मर्मअनुसार राज्य सञ्चालन हुन नसकेको बताएका छन्।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित ‘संघीयता कार्यान्वयनमा प्रदेश संरचना समसामयिक संवाद’ कार्यक्रममा बोल्दै नेता सिटौलाले प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायहरू स्वतन्त्र रूपमा कार्य गर्न नसकेको दाबी गरे। उनले अहिले देश कसको नियन्त्रणमा छ भन्ने प्रश्नसमेत उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।


ADVERTISEMENT

# # #


सिटौलाले नेपालमा प्रतिशोधको राजनीति बढ्दै गएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्र, समाज र राज्य प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएका छन्। विश्व राजनीतिका प्रभाव नेपालमा पनि देखिएको र राजनीतिक दलहरूबीचको अविश्वास दिनप्रतिदिन गहिरिँदै गएको उनको भनाइ छ । उनले देशका साझा मुद्दामा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर सोच्ने र सहकार्य गर्ने वातावरण आवश्यक रहेको बताएका छन्।

संविधान कुनै स्थिर वा परिवर्तन गर्नै नहुने दस्तावेज नभएको उल्लेख गर्दै उनले समयअनुकूल आवश्यक संशोधन गर्न सकिने धारणा राखेका छन्। तर, संशोधनका क्रममा संविधानका मौलिक मूल्य, लोकतान्त्रिक व्यवस्था र संघीयताको आधारभूत सिद्धान्तलाई अक्षुण्ण राख्नुपर्नेमा उनले जोड दिएका छन्।

नेता सिटौलाले संघीय व्यवस्थालाई कमजोर बनाउने होइन, त्यसका सबल पक्षलाई संरक्षण गर्दै देखिएका कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले वर्तमान राज्य व्यवस्थालाई अझ प्रभावकारी, जवाफदेही र जनमुखी बनाउँदै नागरिकको पहुँच सहज हुने गरी संघीयताको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।