काठमाडौं- भारतीय राजदूतावासले असार १२ देखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ।


ADVERTISEMENT


प्रतियोगितामा भारतीय राजदूतावास, नेपालको परराष्ट्र मन्त्रालय, काठमाडौंस्थित कूटनीतिक नियोग, नेपाली सञ्चारमाध्यम, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी, नेपाल सरकारका अधिकारी, विभिन्न कर्पोरेट संस्था तथा नेपालमा रहेका भारतीय समुदाय आईसीएएन का गरी आठ टोलीको सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


प्रतियोगिताको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी तथा विभिन्न कूटनीतिक प्रतिनिधिहरूको उपस्थितिमा भएको थियो।

तीन दिनसम्म चलेको प्रतिस्पर्धापछि भारतीय राजदूतावास र आईसीएएनबीच फाइनल खेल सम्पन्न भएको थियो। समापन समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले विजेता टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरेका छन्।

प्रतियोगिताको सफल समापनको अवसरमा असार १५ गते विशेष स्वागत कार्यक्रम रिसेप्सन  समेत आयोजना गरिएको थियो। कार्यक्रममा राजदूत श्रीवास्तवले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याएको नेपाल क्रिकेट संघ क्यान तथा अन्य साझेदार संस्थाप्रति आभार व्यक्त गरे।

सोही अवसरमा उनले नेपाली यू–१९ महिला क्रिकेट टोलीका तीन आशालाग्दा खेलाडी सना प्रवीण, कृष्मा गुरुङ र सावित्री धामीलाई व्यावसायिक स्तरका क्रिकेट किट हस्तान्तरण गर्दै आगामी आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि शुभकामना व्यक्त गरेका छन्।

भारतीय राजदूतावासका अनुसार प्रतियोगिताले खेलकुदमार्फत नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने तथा नेपाली युवा खेलाडीको क्षमता विकासमा सहयोग पुर्‍याउने भारतको प्रतिबद्धतालाई उजागर गरेको छ।