हेटौंडा- बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप उत्तरदायी बनाउने उद्देश्यले ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको ‘हेलो सिएम डेस्क’को उद्घाटन गर्दै प्रदेश सरकार र नागरिकबीचको प्रत्यक्ष संवादलाई सुदृढ बनाउन यो सेवा सुरु गरिएको बताएका छन्।
उनका अनुसार प्रदेशवासीले दैनिक जीवनमा भोग्ने समस्या, सेवा प्रवाहमा देखिएका कमजोरी, विकास निर्माणसँग सम्बन्धित गुनासा तथा अन्य सुझाव अब सिधै मुख्यमन्त्री कार्यालयमा दर्ता गर्न सक्नेछन्। प्राप्त गुनासाको प्रकृतिअनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाई समाधान प्रक्रिया अघि बढाइनेछ।
मुख्यमन्त्री बानियाँले नागरिकका जायज गुनासालाई प्राथमिकताका साथ सम्बोधन गरिने बताउँदै सेवा प्रवाहमा ढिलासुस्ती वा लापरबाही गर्ने निकायलाई समेत जवाफदेही बनाइने स्पष्ट पारेका छन्।
उनले ‘सरकार जनताको विश्वास जित्न नागरिकका समस्या सुन्न र समाधान गर्न सधैं तयार हुनुपर्छ’ भन्दै ‘हेलो सिएम’लाई सुशासन र जनउत्तरदायी शासन व्यवस्थाको प्रभावकारी माध्यमका रूपमा विकास गरिने बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्राप्त उजुरीको नियमित अनुगमन गरिनेछ भने आवश्यक समन्वय र सहजीकरणमार्फत समाधानलाई छिटो र प्रभावकारी बनाइनेछ। मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने व्यवस्था गरिएको छ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताका समस्याको समयमै समाधान गर्न सम्बन्धित मन्त्रालय, विभाग र निकायका कर्मचारी तथा पदाधिकारीलाई सक्रिय र जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्।
प्रदेश सरकारले ‘हेलो सिएम’ सेवामार्फत जनगुनासो व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँदै नागरिकको सरकारप्रतिको विश्वास अझ बलियो बनाउने अपेक्षा गरेको छ। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा विभिन्न सरकारी निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।



























































