काठमाडौं – नेपाली सेनाको गौरव बढाउने दुर्लभ उपलब्धि हासिल गर्दै एउटै नेपाली परिवारका तीन पुस्ताले बेलायतको विश्वप्रसिद्ध रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट (Royal Military Academy Sandhurst) बाट स्नातक हुने इतिहास रचेका छन् ।
लेफ्टिनेन्ट तेजस जंग थापा स्यान्डहर्स्टबाट स्नातक गर्ने तेस्रो पुस्ताका पहिलो नेपाली अधिकारी बनेका छन्। शनिबार आयोजित दीक्षान्त समारोहमा उनीसहित ७३ जना नयाँ अधिकृतहरू औपचारिक रूपमा कमिसन भएका थिए ।
दीक्षान्तपछि लेफ्टिनेन्ट थापाले बुबा र हजुरबुबाको पदचिन्ह पछ्याउँदै नेपाली सेनाको सेवा गर्ने अवसर पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो गर्वको विषय भएको बताएका छन् ।
उनका बुबा मेजर जनरल अनुप जंग थापा सन् १९९०–९१ मा स्यान्डहर्स्टबाट स्नातक भएका थिए। त्यस्तै हजुरबुबा (पैतृक) अवकाशप्राप्त ब्रिगेडियर जनरल तेजेन्द्र जंग थापा ले १९६०–१९६२ मा यही प्रतिष्ठित सैन्य एकेडेमीमा प्रशिक्षण लिएका थिए । सोही अवधिमा मातृपक्षका हजुरबुबा स्वर्गीय लेफ्टिनेन्ट कर्णेल प्रबल शम्शेर राणा ले पनि स्यान्डहर्स्टमा प्रशिक्षण प्राप्त गरेका थिए ।
नेपालले सन् १९५२ देखि नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई स्यान्डहर्स्ट पठाउँदै आएको छ। यसै वर्ष थप दुई नेपाली सेनाका अधिकृत पनि यस प्रतिष्ठित सैन्य एकेडेमीबाट स्नातक हुने तयारीमा छन् ।
विश्वकै उत्कृष्ट सैन्य शिक्षालयमध्ये एक मानिने स्यान्डहर्स्टमा नेपाली परिवारको तीन पुस्तासम्म निरन्तर उपस्थिति नेपाली सेनाको अनुशासन, परम्परा र समर्पणको प्रेरणादायी उदाहरण बनेको छ ।



























































