काठमाडौं – नेपाल मर्चेन्ट बैंकर संघ एमब्यानले नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको पुँजी बजारको विकास र सुधारका विषयमा छलफल गरेको छ।


ADVERTISEMENT


बिहीबार भएको शिष्टाचार भेटमा एमब्यानका कार्यसमिति सदस्यहरूले सेबोनका अध्यक्ष डा. भट्ट तथा बोर्डका कार्यकारी निर्देशकहरूसँग भेट गरी पुँजी बजारलाई अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेका हुन्।


ADVERTISEMENT

# # #


भेटका क्रममा अध्यक्ष डा. भट्टले नेपाल मर्चेन्ट बैंकर संघप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

छलफलमा नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो। विशेषगरी म्युचुअल फन्ड, प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ, प्राइभेट इक्विटी, लगानीकर्ता विश्वास अभिवृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा पुँजी बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विस्तृत छलफल भएको संघले जनाएको छ।

त्यसैगरी, बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गर्दै लगानीकर्ताको विश्वास सुदृढ बनाउने विषयमा पनि दुवै पक्षले जोड दिएका छन्।

भेटवार्ताको अन्त्यमा नेपाल मर्चेन्ट बैंकर संघ र नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।