काठमाडौं-  नेपाल विज्ञापन संघ (आन) ले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिरहेको ‘Month of Creativity’ कार्यक्रमअन्तर्गत ‘Evolving Media Landscape and Ever-Transitioning Advertising Business’ (परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणशील विज्ञापन व्यवसाय) विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।


ADVERTISEMENT


गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित कार्यक्रममा नेपाली मिडिया तथा विज्ञापन उद्योगमा तीव्र रूपमा भइरहेको डिजिटल परिवर्तन, कृत्रिम बुद्धिमत्ता (AI), डेटा-आधारित मार्केटिङ, डिजिटल विज्ञापन, सामाजिक सञ्जालको बढ्दो प्रभाव तथा विज्ञापन व्यवसायले सामना गरिरहेका अवसर र चुनौतीबारे विज्ञहरूबीच गहन छलफल भएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रममा फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका डिजिटल प्लेटफर्मको प्रभाव बढ्दै जाँदा टेलिभिजन, रेडियो र छापा माध्यममा आउने विज्ञापनको हिस्सा घट्दै गएको विषयमा पनि चर्चा गरिएको थियो। साथै, डिजिटल विज्ञापन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव, कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोग, डिजिटल साक्षरताको विस्तार तथा बदलिँदो बजारअनुसार सिर्जनात्मक सामग्री निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

छलफलका क्रममा एआई र अत्याधुनिक प्रविधिको प्रयोगसँगै भ्रामक विज्ञापन तथा ‘डीपफेक’ जस्ता चुनौतीहरूलाई नियन्त्रण गर्न स्पष्ट आचारसंहिता, स्वनियमन, पारदर्शिता र जिम्मेवार प्रविधि प्रयोगलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको थियो।

कार्यक्रमपछि नेपाल विज्ञापन संघका सदस्य संस्था **एड्सारो नेपाल प्रा.लि.**का अध्यक्ष सुजन अधिकारीले आधुनिक विज्ञापन प्रविधि तथा डिजिटल प्लेटफर्ममार्फत विज्ञापन वितरणसम्बन्धी कम्पनीले विकास गरेका नवीन प्रविधि र त्यसको उपयोगिताबारे विशेष प्रस्तुति दिएका छन्।

नेपाल विज्ञापन संघका कार्यकारी सदस्य प्रभात रिमालले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष पंकज प्रधानले स्वागत मन्तव्य व्यक्त दिएका थिए। प्यानल छलफलको सहजीकरण टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुजराज ढुंगेलले गरेका छन्।

छलफलमा संघका कार्यकारी सदस्य दीपेन्द्र ढुंगाना, बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य तथा रेड बुल नेपालका सेल्स एन्ड मार्केटिङ प्रमुख निभृत प्रधानलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले बदलिँदो प्रविधिसँगै नेपाली मिडिया तथा विज्ञापन उद्योगलाई थप प्रतिस्पर्धी, पारदर्शी र नवप्रवर्तनमुखी बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै सहभागी तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन्।