ललितपुर – बागमती प्रदेश सुशासन केन्द्र, जावलाखेलद्वारा आयोजित “सार्वजनिक खरिद व्यवस्थापन तथा बेरुजु सम्परीक्षण” सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
मुख्यमन्त्री बानियाँले विकास निर्माणका योजनाहरू गुणस्तरीय, समयमै सम्पन्न र जनउत्तरदायी बनाउन सार्वजनिक खरिद प्रक्रियामा कानुनी व्यवस्था, पारदर्शिता र जवाफदेहिताको पूर्ण पालना हुनुपर्नेमा जोड दिएका छन्। बेरुजु न्यूनीकरण, वित्तीय अनुशासन कायम गर्ने तथा सुशासन प्रवर्द्धनका लागि सबै सरकारी निकाय र कर्मचारीले इमान्दारिता तथा जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने उनको भनाई छ।
मुख्यमन्त्री बानियाँले सुशासनलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै दक्ष जनशक्ति, प्रभावकारी अनुगमन र समयानुकूल क्षमता अभिवृद्धिमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सार्वजनिक खरिद व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु सम्परीक्षण तथा सुशासनका विविध पक्षबारे सरोकारवाला निकायका प्रतिनिधि र सहभागीहरूबीच विस्तृत छलफल तथा अन्तरक्रिया भएको छ।



























































