काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।


ADVERTISEMENT


कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सरकारको १०० दिनको कार्यसम्पादन समीक्षा कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारले कानुनी प्रक्रिया र संस्थागत प्रणालीभन्दा परिणामलाई प्राथमिकता दिने नाममा कानुन विपरीत निर्णय गर्न थालेको टिप्पणी गरेका छन्।


ADVERTISEMENT

# # #


उनले लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना अपरिहार्य रहेको उल्लेख गर्दै कानुन मिच्ने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले जनतामा विश्वास जगाउनेभन्दा आशंका बढाउने काम गरेको आरोप लगाएका छन्। जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयभन्दा प्रचारमुखी गतिविधिमा सरकार बढी केन्द्रित रहेको उनको भनाई छ।

संविधान संशोधनजस्ता संवेदनशील विषय हचुवाका भरमा अघि बढाउन नहुने भन्दै उनले समावेशिता र भाषिक संवेदनशीलतालाई सम्मान गर्दै राष्ट्रिय सहमतिका आधारमा मात्रै यस्ता विषय अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा चलाएको डोजर अभियानको प्रसंग उल्लेख गर्दै थापाले सरकारले कानुनी प्रक्रिया र मानवीय संवेदनशीलतालाई बेवास्ता गरेको आरोप  लगाएका छन्।

सभापति थापाले  साना व्यवसायीदेखि ठूला उद्योगीसम्म लगानीको वातावरण बन्न नसकेको, सरकारले आर्थिक सङ्कुचन हटाउन आवश्यक पहल नगरेको तथा परराष्ट्र नीतिमा समेत राष्ट्रिय सहमति निर्माणभन्दा तत्कालीन राजनीतिक लाभलाई प्राथमिकता दिएको दाबी गरेका छन्।