काठमाडौं- वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै पूर्व गभर्नर तथा सरोकारवालाहरूले आगामी मौद्रिक नीतिमा आवश्यक सुधार र समायोजन गर्न सुझाव दिएका छन्।
आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सहभागी पूर्व गभर्नरहरूले मौद्रिक नीतिलाई थप लचिलो, व्यावहारिक र विकासमुखी बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनीहरूले मूल्य स्थिरता कायम राख्दै आर्थिक वृद्धि र निजी क्षेत्रको लगानी विस्तारबीच सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको बताए। मौद्रिक नीति केवल नियन्त्रणमुखी नभई उत्पादन, लगानी र रोजगारी प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ थियो।
बैठकमा सहभागीहरूले बैंकिङ क्षेत्रमा देखिएको तरलता व्यवस्थापन, कर्जा प्रवाहमा आएको सुस्तता तथा ब्याजदरको उतारचढावलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्।
उनीहरूले उत्पादनमूलक क्षेत्रमा सहज रूपमा कर्जा प्रवाह हुने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री नीति अवलम्बन गर्न आग्रह गरे। मौद्रिक नीतिले अनुत्पादक क्षेत्रभन्दा उत्पादनशील क्षेत्रमा लगानी र कर्जा विस्तारलाई प्राथमिकता दिनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।
पूर्व गभर्नर डा। चिरञ्जीवी नेपाल, महाप्रसाद अधिकारी र दिपेन्द्रबहादुर क्षेत्री लगायतले वित्तीय अनुशासन कायम राख्दै उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखेका थिए।
अर्थ समितिले बैठकमा प्राप्त सुझावहरूलाई आगामी मौद्रिक नीति तथा सम्बन्धित निर्णय प्रक्रियामा समावेश गर्ने जनाएको छ।



























































