काठमाडौं – कीर्तिपुरस्थित एपीएफ स्कुलमा भएको भनिएको करिब ११ करोड रुपैयाँ आर्थिक हिनामिना प्रकरणमा पक्राउ परेकी सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका सहयोगी टासी भन्ने लीलाबहादुर लामालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सशस्त्र प्रहरी बलका डीआईजी युवराज अर्यालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसपछि उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको थियो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुवैमाथि ठगी तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट इन्स्पेक्टर गुरुङले एपीएफ स्कुलको आम्दानी सशस्त्र प्रहरीको केन्द्रीय कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम आफ्ना सहयोगी लीलाबहादुर लामाको बैंक खातामा स्थानान्तरण गरेको आरोप लागेको छ। उक्त रकम करिब ११ करोड रुपैयाँ रहेको बताइएको छ।
अनुसन्धानका क्रममा रकम कनेक्ट आईपीएसमार्फत स्थानान्तरण गरिएको र त्यसका लागि स्कुलका तत्कालीन समादेशक एसएसपी हाल डीआईजी दिग्विजय सुवेदीको नक्कली हस्ताक्षरसमेत प्रयोग गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लीलाबहादुर लामा सञ्चालक रहेका एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालिका खातामा रकम पठाइएको खुलेको छ। उक्त रकम कसरी प्रयोग भयो र त्यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।
यसैबीच, यही प्रकरणबीच सशस्त्र प्रहरी मुख्यालयले आर्थिक तथा खरिदसँग सम्बन्धित संवेदनशील कार्यालयमा केही अधिकृतहरूको सरुवा गरेपछि संगठनभित्र त्यसबारे पनि चर्चा चुलिएको छ। अनुसन्धानको दायरामा रहेका वा प्रकरणसँग जोडिएका केही अधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै पारदर्शिता र सुशासनमाथि प्रश्न उठ्न थालेको छ।
प्रहरीले घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ। दोषी देखिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।



























































