काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताएका छन्।
मंगलबार राष्ट्रियसभामा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपाल र भारत छिमेकी मुलुक भएकाले सीमा सम्बन्धी केही विवाद हुनु स्वाभाविक भए पनि त्यसको समाधान तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा कूटनीतिक वार्तामार्फत खोजिने बताए।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा सुस्ता क्षेत्र नेपालकै भूभाग रहेको नेपालको स्पष्ट अडान दोहोर्याउँदै ऐतिहासिक प्रमाणका आधारमा सीमा विवाद समाधानका लागि पहल भइरहेको जानकारी दिएका छन्।
मन्त्री खनालका अनुसार दुई देशबीच रहेका सीमा सम्बन्धी संयन्त्रहरू सक्रिय छन् र आगामी महिनामा ‘बोर्डर वर्किङ कमिटी’को बैठक पनि आयोजना हुने तयारी गरिएको छ।
त्यस्तै, उनले आगामी सोमबारदेखि नयाँ कम्पनीबाट छापिएको राहदानी ९पासपोर्ट० वितरण गर्ने तयारी भइरहेको जानकारी दिए।
राहदानी छपाइसम्बन्धी विषय हाल अदालतमा विचाराधीन रहेकाले त्यसबारे थप टिप्पणी गर्नु उपयुक्त नहुने मन्त्री खनालले बताएका छन् ।



























































