काठमाडौं- गृहमन्त्री सुधन गुरुङले मानवअधिकार, कानुनी शासन र सुशासनको भावनाअनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले मुलुकमा शान्ति, सुरक्षा र प्रत्येक नागरिकको जीउधन तथा स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको प्रमुख दायित्व भएको बताए।
उनले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्र सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको स्पष्ट पारे।
मन्त्री गुरुङले कागजी प्रतिबद्धता र भाषणमा मात्रै सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा, सुशासन र निष्पक्षताको परिणाम दिने काममा सरकार केन्द्रित रहेको बताएका छन्। साथै, आफू विभिन्न जिल्लामा पुगेर स्थलगत अनुगमन गरिरहेको र त्यहाँबाट प्राप्त सुझावका आधारमा गृह प्रशासनमा आवश्यक सुधारका काम अघि बढाइने जानकारी दिएका छन्।
उनले जाजरकोट र रुकुम पश्चिम भूकम्प तथा मनसुनजन्य विपद्बाट प्रभावित परिवारका लागि आवास पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। आगामी आर्थिक वर्षमा जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित जिल्लाका क्षतिग्रस्त निजी आवास तथा सरकारी भवन पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको पनि उनले जानकारी दिएका छन्।



























































