काठमाडौं –  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५औँ मौद्रिक नीति सार्वजनिक गर्दै ७ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग गर्ने र मुद्रास्फीतिलाई ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य तय गरेको छ।


ADVERTISEMENT


राष्ट्र बैंकले बाह्य आर्थिक अवस्था अनुकूल, विदेशी मुद्रा सञ्चिति सुदृढ र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको निष्कर्षसहित यसअघि अवलम्बन गरिएको सतर्क तर लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको जनाएको छ।


ADVERTISEMENT

# # #


मौद्रिक नीतिअनुसार नीतिगत दर, बैंक दर र स्थायी निक्षेप सुविधा दर यथावत् राखिएको छ। अनिवार्य नगद अनुपात (CRR), वैधानिक तरलता अनुपात (SLR) तथा स्थायी तरलता सुविधा (SLF) सम्बन्धी विद्यमान व्यवस्था पनि परिवर्तन गरिएको छैन।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमनलाई थप प्रभावकारी बनाउन निर्देशिकाहरू सरलीकरण गर्ने, बैंक वर्गीकरणसम्बन्धी अध्ययन सम्पन्न गरी नियामकीय व्यवस्था क्रमशः लागू गर्ने तथा डिजिटल बैंकिङ विस्तारमार्फत वित्तीय सेवाको लागत घटाउने नीति लिएको छ।

त्यस्तै, व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्व घटाउने, चेक अनादरका कारण कालोसूचीमा पर्ने अवस्थालाई सहज बनाउने, रुग्ण उद्योगको निष्क्रिय कर्जा व्यवस्थापन गर्ने, सार्वजनिक विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात (Loan to Value Ratio) मा सहजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा समावेश गरिएको छ।

राष्ट्र बैंकले आवश्यकता परे मात्रै समष्टिगत विवेकशील (Macroprudential) नीतिमा संशोधन गर्ने स्पष्ट गर्दै मुद्रास्फीति वा वित्तीय स्थायित्वमा चुनौती देखिए मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरिने जनाएको छ।