काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएयता सार्वजनिक गरिएका सुशासन सुधारका अधिकांश कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भएको बताएका छन्।
मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सरकारको १०० बुँदे कार्यसूचीमध्ये ७६.२ प्रतिशत प्रगति हासिल भएको जानकारी दिए।
उनले आगामी दिनमा सुशासन सुधारका कार्यक्रमलाई अझ प्रभावकारी र तीव्र बनाइने बताए। राष्ट्रसेवक कर्मचारीमा सुशासन र सदाचार प्रवर्द्धन गर्न विभिन्न नीतिगत तथा कानुनी व्यवस्था गरिएको उल्लेख गर्दै सुशासन ९व्यवस्थापन तथा सञ्चालन ऐन, राष्ट्रिय सदाचार नीति–२०८३ तथा राष्ट्रिय भ्रष्टाचार नियन्त्रण रणनीति तथा कार्ययोजना–२०८३ कार्यान्वयनमा रहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले समयबद्ध रणनीति र कार्ययोजनाअनुसार काम गरिरहेको बताए। उनले सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण ९तेस्रो संशोधन० अध्यादेश, २०८३ संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको जानकारी पनि दिए।
उनका अनुसार नेपाललाई ग्रे लिस्टबाट हटाउन आवश्यक सबै तयारी अघि बढाइएको छ र सरकारले भविष्यमा पनि यसका लागि हरसम्भव प्रयास जारी राख्नेछ।
यसैबीच, राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ पनि पारित गरेको छ।



























































