काठमाडौं-  नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता कायम हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा व्यक्त गरेका छन्।


ADVERTISEMENT


मंगलबार काठमाडौंको चुच्चेपाटीस्थित सम्पर्क कार्यालयमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको बैठकमा नेताहरूले पार्टी एकता सम्भव नभए वैकल्पिक संगठन निर्माणको विकल्पबाट पछि हट्न नहुने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठकमा पार्टी एकताको सम्भावना, चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल भएको थियो। पार्टीभित्रको एकताका लागि अन्तिमसम्म प्रयास गर्ने, तर त्यसबाट पनि परिणाम ननिस्किए लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुर्‍याएको योगदानलाई साथ लिएर नयाँ विकल्पका साथ अघि बढ्नुपर्ने सुझाव आएको उनले बताएका छन्।

विश्वकर्माका अनुसार बैठकमा पाँच जना नेताले धारणा राख्दै अब अलमल नगरी छिटो निर्णय लिनुपर्नेमा जोड दिएका थिए।

बैठकले आगामी साउन ६ गते मनाइने बीपी स्मृति दिवस भव्य रूपमा आयोजना गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। बैठक बुधबार पनि जारी रहने नेता विश्वकर्माले जानकारी दिएका छन्।