काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख गरिएको कारबाहीसम्बन्धी व्यवस्थालाई फरक ढंगले बुझ्न नहुने बताएका छन्।
बुधबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले संशोधित विधान कुनै एक व्यक्तिलाई लक्षित गरेर नभई केन्द्रीय समितिबाट व्यापक छलफलपछि पारित गरिएको स्पष्ट पारेका छन्।
उनले विधानमा सभापतिदेखि साधारण सदस्यसम्मको चयन प्रक्रिया तथा पदबाट हट्ने अवस्थासम्बन्धी स्पष्ट व्यवस्था गरिएको बताएका छन्। अन्य पदाधिकारी, संसदीय दलका नेता लगायतका पदको अन्त्य हुने अवस्थाबारे पनि विधानमा प्रस्ट उल्लेख गरिएको उनको भनाइ थियो।
पराजुलीले सभापतिको निर्देशन अवज्ञा गरे संसदीय दलको नेता हटाउन सकिने भन्ने प्रावधानलाई लिएर भइरहेको व्याख्या सही नभएको दाबी गरेका छन्। विधान बनाउँदा कुनै निश्चित व्यक्ति वा पदलाई लक्षित नगरी भविष्यमा पार्टीलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ व्यवस्था गरिएको उनले बताएका छन्।



























































