काठमाडौं-  सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मिता पोखरेलले जानकारी दिएका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। साथै कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।त्यस्तै, बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ र ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ।

साथै कारागार नियमावली, २०८३, मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद्का यी निर्णय प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य, सुशासन तथा संस्थागत सुदृढीकरणलाई लक्षित गर्दै गरिएको छ।