काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक विद्युत् खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत् उत्पादनमा मात्रै केन्द्रित नभई आन्तरिक माग र खपत बढाउनेतर्फ योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक नीतिगत सुधारको योजना तयार गर्न निर्देशन दिएको बताएका छन्।
उनले बढ्दो विद्युत् उत्पादनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय प्रसारण प्रणाली ग्रिड मा थपिँदै गएको नयाँ क्षमताको दीर्घकालीन व्यवस्थापन र प्रभावकारी उपयोगमा मन्त्रालय गम्भीर रहेको बताए।
विद्युत् आपूर्तिमा देखिने अवरोध तथा पटक–पटक हुने विद्युत् अवरोध ट्रिपिङ को समस्या समाधान गर्दै आपूर्ति प्रणालीलाई थप मजबुत, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन्।
मन्त्री श्रेष्ठले नेपालले भविष्यमा भारत र बंगलादेशमा मात्र नभई म्यानमार, थाइल्यान्डलगायत पूर्वी एसियाली बजारसम्म पनि नेपाली विद्युत् निर्यात गर्ने लक्ष्यका साथ तयारी अघि बढाइरहेको छन्।



























































