काठमाडौं-  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले बिहीबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन्।


ADVERTISEMENT


भेटका क्रममा नेपाल–फ्रान्स सम्बन्धका विविध आयाम तथा दुई देशबीचको सहयोग र साझेदारीका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताएका छन्। उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्य ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ ले नेपालको राजनीतिक आन्दोलनलाई समेत प्रेरणा दिएको उल्लेख गरेका छन्।

फ्रान्सले युरोपेली सङ्घ (ईयू) मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।

उनले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो तथा फ्रान्सेली जनतामा सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरे।

राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर प्रयासरत रहेको बताउँदै आगामी दिनमा पनि सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।