काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएकी छिन् ।
जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सरकार सफा नियतका साथ आएको र सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी हुन् । उनले आन्दोलनपछि जनताले लोकतान्त्रिक विधि र पद्धति प्रयोग गरेर नयाँ नेतृत्व चुनेको उल्लेख गर्दै जनताका साथमा सरका रहेको धारणा राखिन् ।
वर्तमान सरकार गठन भएदेखि अहिलेसम्म काम गरेको अवधि साढे चारदेखि पाँच महिना मात्र भएकाले धेरै संरचना बुझ्न र मिलाउन समय लागेको उनले बताइन् । त्यस्तै उनले प्रतिनिधि सभामा करिब दुई–तिहाइको संख्या भए तापनि कानुन निर्माणका लागि राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने कानुनी व्यवस्था रहेकाले सहज नभएको धारणा राखिन् । राष्ट्रिय सभा तथा अन्य संरचनाहरूमा कसले सहयोग गरिरहेको छ वा छैन भन्ने कुरा जनताले प्रत्यक्ष मूल्यांकन गरिरहेको उनको भनाइ छ ।
उनले जनताको धैर्यताको बाँध फुट्ने अवस्था बुझ्न सकिने भए पनि जनतालाई जत्तिकै पीडा सरकारमा रहेकाहरूलाई पनि रहेको बताइन् । मन्त्री गौतमले अहिले आपसमा लड्ने र दोषारोपण गर्ने गर्दा विरोधीहरूले खेल्ने ठाउँ पाउने भएकाले सबै एकजुट भई धैर्य र साहसका साथ अघि बढ्न आग्रह गरे । भाद्र २३ गते युवाहरूमाथि गोली हानिएको, दमन भएको र उनीहरूले ज्यान गुमाउनुपरेको हुँदा २३ गते र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न नमिल्ने उहाको भनाइ छ ।
































































