सर्लाही- सर्लाहीको गोडैता नगरपालिकामा ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। घटनामा उनी गम्भीर रूपमा घाइते भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीका अनुसार आगलागीबाट मण्डलको शरीरको अधिकांश भाग जलेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले तत्काल थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै गरिएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी परिचालन गरी आवश्यक प्रमाण संकलन तथा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाको पृष्ठभूमिबारे स्पष्ट हुने प्रहरीको भनाइ छ।
यस घटनाको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइते युवकको प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
पछिल्लो समय देशका विभिन्न स्थानमा आत्मदाह प्रयासका घटनाहरू सार्वजनिक भइरहेका बेला सर्लाहीको यो घटनाले पनि समाजमा बढ्दो मानसिक, पारिवारिक तथा सामाजिक तनावप्रति गम्भीर बहस सिर्जना गरेको छ। सम्बन्धित निकायले घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।



























































