हेटौंडा-  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।


ADVERTISEMENT


नारायणी यातायात व्यवसायी संघको १६औँ अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सार्वजनिक यातायात मुलुकको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसको सुधारमा सरकार गम्भीर रहेको बताएका छन्।


ADVERTISEMENT

# # #


उनले यातायात व्यवसायीहरू राज्यका साझेदार भएको उल्लेख गर्दै यात्रुले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणाराखेका छन् ।

मुख्यमन्त्री बानियाँले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन, ट्राफिक अनुशासन तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले यातायात क्षेत्रको आधुनिकीकरणसँगै व्यवसायीहरूको हकहित संरक्षणमा समेत प्रदेश सरकार सकारात्मक रहेको बताएका छन्।

उनले नियमको पालना गर्दै सेवा प्रवाह गर्न व्यवसायीहरूलाई आग्रह गर्दै यात्रुको विश्वास जित्न सेवा, अनुशासन र पारदर्शितामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रले प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राज्य र निजी क्षेत्रबीच विश्वास र सहकार्य बलियो भए मात्रै यस क्षेत्रका चुनौती समाधान गर्न सकिने बताए।

कार्यक्रममा संघका पदाधिकारीहरूले यातायात व्यवसायले भोगिरहेका विभिन्न समस्या, कर प्रणाली, सवारी नवीकरण, बीमा, सडक पूर्वाधार तथा व्यवसायीमैत्री नीतिको आवश्यकता औँल्याएका थिए। उनीहरूले व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्यको अपेक्षा समेत व्यक्त गरेका छन्।

नारायणी यातायात व्यवसायी संघको १६औँ अधिवेशनमा विभिन्न जिल्लाका यातायात व्यवसायी, जनप्रतिनिधि, सरकारी अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता  समेत रहेको छ। कार्यक्रममा मुख्यमन्त्री बानियाँलाई संघका तर्फबाट सम्मानसमेत गरिएको छ ।