काठमाडौं- स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित स्कोडा शोरुममा आयोजित कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा नयाँ एसयूभीको अनावरण गरेका हुन्।
कम्पनीका अनुसार नयाँ कुशाक चालक–केन्द्रित अवधारणामा आधारित भएर विकास गरिएको हो। ‘रियल ड्राइभर्स वान्टेड’ अभियानमार्फत उत्कृष्ट ड्राइभिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।
नयाँ स्कोडा कुशाक १.० लिटर र १.५ लिटर टिएसआई इन्जिन विकल्पमा उपलब्ध छ। यसमा ८–स्पिड अटोमेटिक तथा डीएसजी ट्रान्समिसनको सुविधा रहेको छ, जसले सहज नियन्त्रण र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। पछाडिको सिटमा मसाज सुविधा पनि उपलब्ध गराइएको छ, जुन यस वर्गका एसयूभीमा कमै पाइने सुविधा हो।
कम्पनीले नयाँ कुशाकको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ। साथै ‘प्रोमिस अफ १२’ सेवा योजनाअन्तर्गत देशभर रहेका १२ वटा सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार सेवा उपलब्ध गराइने जनाएको छ। यस योजनाअनुसार हरेक १२ महिना वा १२ हजार किलोमिटरमा १२ हजार रुपैयाँको निश्चित शुल्कमा नियमित मर्मत सेवा लिन सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली ग्राहकलाई युरोपेली इन्जिनियरिङको अनुभव प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने उद्देश्यले नयाँ कुशाक सार्वजनिक गरिएको बताए। प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले नयाँ कुशाक उत्कृष्ट ड्राइभिङ अनुभवलाई प्राथमिकता दिने ग्राहकका लागि निर्माण गरिएको उल्लेख गर्दै परीक्षणात्मक सवारी टेस्ट ड्राइभ मार्फत यसको अनुभव लिन सबैलाई आग्रह गरेका छन्।
स्कोडा नेपालका अनुसार आधुनिक प्रविधि, युरोपेली इन्जिनियरिङ, आकर्षक मूल्य र बिक्रीपछिको सेवाको संयोजनले नयाँ कुशाकलाई नेपाली एसयूभी बजारमा थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।



























































