काठमाडौं- रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि मृतकका शव फेला पर्ने क्रम बढेसँगै त्रिवि शिक्षण अस्पतालको शवगृहमा ठाउँ अभाव हुन थालेको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीमा मृत्यु भएका ६० जनाको शव हालसम्म अस्पतालमा ल्याइएको छ। तीमध्ये ८ शवको पहिचान भइसकेको छ भने २८ शवको पोस्टमार्टम भइरहेको छ।
शवगृहको कुल क्षमता १५० शवको भए पनि यसअघि नै ८० वटा शव रहेको अवस्थामा थप शव ल्याइएपछि ठाउँ निकै सीमित भएको हो। अब बढीमा १० वटा शव मात्रै राख्न सकिने अवस्था रहेको डा. चौधरीले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रबाट थप शव फेला पर्ने क्रम जारी रहेकाले शव व्यवस्थापनमा थप चुनौती आउन सक्ने अस्पतालको भनाइ छ। त्यसलाई मध्यनजर गर्दै डा. चौधरीले अस्थायी शव भण्डारणका लागि तत्काल वैकल्पिक स्थान पहिचान गर्न सम्बन्धित सरकारी निकायलाई आग्रह गरेका छन्।
अस्पतालमा ल्याइएका अधिकांश शव कुहिएको तथा क्षतविक्षत अवस्थामा रहेको बताइएको छ। यस्तो अवस्थामा शवलाई फ्रिजमा राखेर मात्रै समस्या समाधान नहुने र पहिचान गर्नसमेत कठिन हुने उनले बताएका छन्।
थप शव फेला परेर काठमाडौं ल्याउने अवस्था रहेकाले शवको पहिचान, पोस्टमार्टम र सुरक्षित व्यवस्थापनका लागि सरकारले तत्काल आवश्यक तयारी गर्नुपर्ने देखिएको छ।































































