काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।
निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, काठमाडौं महानगरपालिकाको चर्को जरिवाना तथा सरकारका केही नीतिका कारण सर्वसाधारण र विपन्न नागरिक समस्यामा परेको दाबी गरेका छन्। उनले गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रसाईंले जनताले परिवर्तनको अपेक्षासहित नयाँ नेतृत्वलाई समर्थन गरे पनि अहिले त्यही नेतृत्वबाट सर्वसाधारण र विपन्न वर्गमाथि अन्याय भइरहेको आरोप लगाएका छन्। उनले देशमा आधारभूत पूर्वाधार र सार्वजनिक सेवामा सुधार नगरी नागरिकमाथि चर्को जरिवाना थोपर्ने प्रवृत्ति बढेको टिप्पणी गरेका छन्।
उनले आफू कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताउँदै व्यवस्था र नागरिक अधिकारसँग सम्बन्धित विषयमा आफ्नो अभियान र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएका छन्।
प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले कार्यक्रम गर्न नदिई उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको घटनाप्रति पनि आपत्ति जनाएका छन्।



























































