काठमाडौं-  गणेश नेपाली आत्मदाह प्रकरणमा घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन प्रतिवेदन नआउन्जेलसम्म निलम्बन गर्ने सहमति भएको छ।


ADVERTISEMENT


पीडित परिवारसँग भएको सहमतिअनुसार घटनाको दिन अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको जनाएको छ। छानबिन प्रक्रिया निष्पक्ष र प्रभावकारी बनाउन यो कदम चालिएको बताइएको छ।


ADVERTISEMENT

# # #


यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई घटनाका सबै पक्षको अध्ययन, प्रमाण संकलन र आवश्यक प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने जनाइएको छ। गणेश नेपालीको आत्मदाह प्रकरणपछि निष्पक्ष अनुसन्धान, जिम्मेवारमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग विभिन्न पक्षबाट उठ्दै आएको छ।