काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तापछि तीन पक्षबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिअनुसार गणेश नेपालीकी श्रीमतीलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गरिनेछ भने उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ। साथै परिवारलाई आवश्यक राहत, सामाजिक सुरक्षा तथा पुनर्स्थापनाका कार्यक्रम उपलब्ध गराइने सहमति भएको छ।
सहमतिपत्रमा घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने तथा अनुसन्धानबाट दोषी देखिने व्यक्तिमाथि कानुनबमोजिम कारबाही अघि बढाउने प्रतिबद्धता पनि उल्लेख गरिएको छ। अन्य राहत तथा पुनर्स्थापनासम्बन्धी बुँदाहरू कार्यान्वयनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन्।
सहमतिपछि पीडित परिवारले गणेश नेपालीको शव बुझ्ने निर्णय गरेको छ। यसअघि परिवारले निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलन गर्दै आएको छ।



























































