ललितपुर – ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको छ ।
महानगरको बजेटका सन्दर्भमा जानकारी दिन सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई उज्यालो सहर बनाउन नेपाल विद्युत प्राधिकरणको सहकार्यमा हाई मास र स्मार्ट स्ट्रीट लाइट जडान कार्य तीव्र पारिएको जानकारी दिएको हो । हाल चक्रपथ खण्ड (बालकुमारी देखि सानेपा सम्मको ७.९ किलोमिटर) मा पोलहरू गाड्ने काम सकिएको र करिब १ महिनाभित्र यो खण्ड पूर्ण रूपमा उज्यालो हुने महानगरले जनाएको छ ।
त्यस्तै नेपालमै पहिलो पटक कुपन्डोल देखि जावलाखेल सम्म जडान गरिएको ’इन्टेलिजेन्ट ट्राफिक लाइट’ प्रणाली सफल भएपछि यसलाई अन्य क्षेत्रमा विस्तार गर्न बोलपत्र (टेन्डर) प्रकाशित भइसकेको महर्जनले बताए । उनाले पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा ’अटोमेटेड पेडेस्ट्रियन ब्यारियर’ को पाइलोटिङ सुरु गरिएको समेत जानकारी दिए । महर्जनले चालू आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्म व्यवसाय नवीकरण गर्दा २५ प्रतिशत छुट दिइने, चालू आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण पेस गरेमा सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाइने बताए ।
एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, महिला समूह वा उनीहरूद्वारा सञ्चालित व्यवसायको हकमा व्यवसाय दर्ता गर्दा ५० प्रतिशत सम्म छुट हुने उनले बताए ।
उनले ललितपुर महानगरभित्रका सम्पत्ति कर तिर्ने करदाता वा निजको श्रीमान÷श्रीमतीले विद्युतीय गाडी खरिद गरेको ’ब्लु बुक’ पेस गरेमा सो वर्षको सम्पत्ति करमा १ प्रतिशत थप छुट दिइने महानगरको नीति रहेको उल्लेख गर्नुभयो ।



























































