काठमाडौं-बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ।
जिल्ला अदालत काठमाडौंले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई उक्त सजाय सुनाएको हो। यसअघि अदालतले गत साता नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने भन्दै गरिएको ठगी प्रकरणमा उनलाई दोषी ठहर गरेको थियो।
सजाय निर्धारणसँगै रायमाझीले ४ वर्ष कैद भोग्नुपर्ने तथा ४० हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने भएको छ। अदालतले यसअघि यही प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलगायत अन्य प्रतिवादीहरूको पनि सजाय निर्धारण गरिसकेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा देखाई अमेरिका पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ असुली गरिएको अभियोग छ। यस प्रकरणमा उच्च राजनीतिक नेतृत्व, पूर्वप्रशासक, सुरक्षा निकायका पूर्वअधिकारी तथा बिचौलियासहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर भएको थियो।
अदालतको पछिल्लो फैसलासँगै बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रमुख प्रतिवादीहरूको सजाय निर्धारण गर्ने क्रम निरन्तर अघि बढिरहेको छ।



























































