काठमाडौं- बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई काठमाडौं जिल्ला अदालतले समान ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।


ADVERTISEMENT


मंगलबार जिल्ला अदालत काठमाडौंले यस प्रकरणमा दोषी ठहरिएका १६ जना प्रतिवादीविरुद्ध सजाय निर्धारण गर्दै दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो। अदालतले प्रत्येक कसुरमा छुट्टाछुट्टै सजाय तोके पनि प्रचलित कानुनी व्यवस्थाअनुसार एकीकृत सजाय कायम गर्दै दुवैलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ।


ADVERTISEMENT

# # #


अदालतको फैसलाअनुसार दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको छ। यी सबै सजायलाई एकीकृत गर्दा दुवैले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भोग्नुपर्ने भएको हो।

दुलाल र भण्डारीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने भन्दै ठूलो रकम असुल्ने योजनाको मुख्य योजनाकारका रूपमा अभियोजन गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले नक्कली कागजात तयार पार्ने, प्रभावशाली व्यक्तिहरूको नाम प्रयोग गरी पीडितलाई विश्वासमा पार्ने तथा संगठित रूपमा ठगीको जालो सञ्चालन गरेको अभियोजन पक्षको दाबी थियो।

यो प्रकरण सार्वजनिक भएपछि देशको राजनीतिक र प्रशासनिक क्षेत्रमा ठूलो तरंग सिर्जना भएको थियो। घटनामा तत्कालीन मन्त्री, पूर्वमन्त्री, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका पूर्वअधिकारी तथा बिचौलियासहित विभिन्न व्यक्तिमाथि अनुसन्धान भएको थियो। अदालतले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत अन्य प्रतिवादीलाई पनि दोषी ठहर गर्दै सजाय निर्धारण गरिसकेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई नेपालको पछिल्लो समयको सबैभन्दा चर्चित संगठित ठगी र भ्रष्टाचारसम्बन्धी मुद्दामध्ये एक मानिन्छ। अदालतको पछिल्लो फैसलाले उक्त प्रकरणमा मुख्य योजनाकार ठहरिएका व्यक्तिहरूमाथि कानुनी उत्तरदायित्व स्थापित गरेको रूपमा हेरिएको छ।