काठमाडौं – उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्।
बिहीबार बिहान माइतीघरमा भेला भएका किसानहरूले आफ्नै कृषि फार्मबाट ल्याइएका गोलभेँडा सडकमा पोख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनकारी किसानहरूले कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न, बजारमा देखिएको बिचौलियाको प्रभाव अन्त्य गर्न तथा किसानमैत्री कृषि नीति लागू गर्न माग गरेका छन्।
किसान बम तामाङले उत्पादनको लागतसमेत नउठ्ने अवस्था सिर्जना भएकाले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको बताए। उनले किसानले उत्पादनको उचित मूल्य नपाउँदा ठूलो आर्थिक मार खेप्नुपरेको गुनासो पनि गरे।



























































