काठमाडौं– अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले पुनरागमन जित निकाल्दै लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने उपलब्धि हासिल गरेको हो।
खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्यो। ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए भने अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याए।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले दुवै गोलमा असिस्ट गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यो जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ।
गोल्डेन बुटको होडमा मेसी अग्रस्थानमा
इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गरेपछि मेसी गोल्डेन बुटको प्रतिस्पर्धामा शीर्ष स्थानमा उक्लिएका छन्। उनले सात खेलमा ८ गोल र ४ असिस्ट गरेका छन्। समान ८ गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पेको असिस्ट संख्या ३ मात्रै रहेको छ।
फ्रान्स सेमिफाइनलबाट बाहिरिसकेकाले मेसी पहिलो पटक विश्वकपको गोल्डेन बुट जित्ने बलिया दाबेदार बनेका छन्। यद्यपि तेस्रो स्थानका लागि हुने खेलमा एमबाप्पेसँग आफ्नो गोल संख्या बढाउने अवसर भने बाँकी छ।
नयाँ कीर्तिमानतर्फ मेसी
३९ वर्षीय मेसीले यस विश्वकपमा लगातार नयाँ कीर्तिमान बनाइरहेका छन्। उनले विश्वकपमा सर्वाधिक ३३ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने र सर्वाधिक ११ असिस्ट गर्ने कीर्तिमान आफ्नो नाममा दर्ज गरिसकेका छन्। यसअघि सन् २०१४ र २०२२ मा गोल्डेन बल अवार्ड जितिसकेका मेसी यस पटक पनि प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्ने प्रमुख दाबेदारका रूपमा रहेका छन्।
अब विश्वकपको उपाधिका लागि अर्जेन्टिनाले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने मेसी व्यक्तिगत रूपमा पहिलो गोल्डेन बुट र तेस्रो गोल्डेन बल अवार्ड जित्ने अभियानमा छन्।





























































