काठमाडौं- दिगोपनालाई आफ्ना सेवा, प्रक्रिया र साझेदारीमार्फत प्रवर्द्धन गर्दै आएको कुमारी बैंक लिमिटेडले जलवायु कार्य (Climate Action) र हरित वित्त (Green Finance) अभ्यासलाई सुदृढ बनाउन मिनर्जी इनिसिएटिभ्स (MinErgy Initiatives) सँग समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।
यो रणनीतिक साझेदारीले स्थानीयस्तरका हरित परियोजनालाई व्यावसायिक बैंकिङ प्रणालीसँग जोड्दै नेपालमा दिगो विकास, जलवायु उत्थानशीलता (Climate Resilience) तथा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। साथै, जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी मिनर्जीको प्राविधिक अनुभव र कुमारी बैंकको सुदृढ वित्तीय पूर्वाधारलाई एकीकृत गर्दै साना, घरेलु तथा मझौला उद्यम (MSMEs) र स्थानीय समुदायका लागि कर्जामा पहुँच सहज बनाइनेछ।
समझदारीपत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत (Chief Investment and Marketing Officer) चन्दन कार्की र मिनर्जी इनिसिएटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन्। साझेदारीको मुख्य उद्देश्य ‘बैंकका लागि तयार समुदाय र समुदायका लागि तयार बैंक’ निर्माण गर्नु रहेको बैंकले जनाएको छ।
कुमारी बैंकका दिगो बैंकिङ प्रमुख (Head–Sustainable Banking) अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र स्थानीय उद्यमीबीचको दूरी घटाउन समुदायको वास्तविक आवश्यकता र बैंकिङ जोखिम व्यवस्थापन दुवै बुझ्ने प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार यो सहकार्यले क्षमता विकासलाई व्यवहारिक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्नेछ।
कुमारी बैंकले देशभर रहेका २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२३३ भन्दा बढी पीओएस (POS) टर्मिनलमार्फत यी पहललाई थप विस्तार गर्ने जनाएको छ। साथै, डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र अन्तर्राष्ट्रिय भिसा कार्ड सेवामार्फत पनि ग्राहकलाई आधुनिक सेवा प्रदान गर्दै आएको बैंकले उल्लेख गरेको छ।
ग्राहकमैत्री नवप्रवर्तन र सुदृढ संस्थागत सुशासनका लागि परिचित कुमारी बैंकले मिनर्जी इनिसिएटिभ्ससँगको यो सहकार्यले दिगो आर्थिक विकासलाई गति दिनुका साथै नेपाललाई स्वच्छ र जलवायु–उत्थानशील भविष्यतर्फ अग्रसर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



























































