काठमाडौं- केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलो पटक सञ्चालन हुन लागेको नेपाल बास्केटबल लिग (एनबीएल) को आधिकारिक प्रसारण साझेदारका रूपमा कान्तिपुर टेलिभिजन नियुक्त भएको छ। यससँगै प्रतियोगिताका सबै खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ।


ADVERTISEMENT


यस सम्बन्धमा बिहीबार आयोजित कार्यक्रममा नेपाल बास्केटबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। कार्यक्रममा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल बास्केटबल लिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सन्तोष उपाध्याय तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) विकास खेतानको पनि उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


आयोजकका अनुसार खेल मैदानमा पुग्न नसक्ने दर्शकलाई पनि प्रतियोगितासँग प्रत्यक्ष जोड्ने उद्देश्यले कान्तिपुर टेलिभिजनसँग प्रसारण साझेदारी गरिएको हो। यसबाट देशभरका दर्शकले घरमै बसेर नेपाल बास्केटबल लिगको रोमाञ्चक प्रतिस्पर्धा हेर्न सक्नेछन्।

आयोजकले यो सहकार्यले नेपाली बास्केटबलको विकास, विस्तार तथा लोकप्रियता बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली बास्केटबलको पहिचान स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यसअघि नै प्रतियोगितामा सहभागी हुने छवटा फ्रेन्चाइज टोली, टोलीका मालिक, लोगो, नारा, मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षक सार्वजनिक गरिसकिएको छ। प्रतियोगिताको टिकटिङ साझेदारका रूपमा आईएमई खल्ती लिमिटेडसँग पनि सम्झौता भइसकेको छ।

नेपाल बास्केटबल लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर्स लगायतका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले नेपालमा व्यावसायिक बास्केटबलको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको आयोजकको विश्वास छ।