काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। दुर्घटनामा उनको दायाँ हात भाँचिएको छ।
देउवानिकट स्रोतका अनुसार केही दिनअघि हङकङमा रहँदा बाथरुममा चिप्लिएर लडेपछि उनको दायाँ हातमा गम्भीर चोट लागेको थियो। लगत्तै उनलाई उपचारका लागि हङकङको एक स्थानीय अस्पतालमा लगिएको थियो।
अस्पतालमा चिकित्सकहरूले परीक्षणपछि उनको दायाँ हातमा फ्र्याक्चर भएको पुष्टि गरेका थिए। आवश्यक उपचार तथा प्लास्टर गरेपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको स्रोतले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको बताइएको छ।
स्रोतका अनुसार देउवा थप उपचारका लागि २०८२ साल चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। उपचारकै क्रममा उनी हङकङमा बसिरहेका बेला यो दुर्घटना भएको हो।
दुर्घटनापछि नेपाली कांग्रेसका नेताहरू तथा देउवानिकट व्यक्तिहरूले उनको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेका छन्। चिकित्सकहरूले केही सातासम्म हातलाई स्थिर राखेर आराम गर्न तथा नियमित फलोअप गर्न सुझाव दिएका छन्।



























































