काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक अधिकारको सम्मान गर्न असफल भएको आरोप लगाउँदै जनताको आवाज दबाउने र राज्य संयन्त्रको दुरुपयोग गर्ने दिशामा अघि बढेको बताएका छन्।
उनले सरकारको पछिल्लो कार्यशैलीलाई तानाशाही तथा फासिवादी प्रवृत्तिको संज्ञा दिँदै लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताजनक अवस्था सिर्जना भएको दाबी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारको आलोचना गर्ने नागरिक र अभियन्तामाथि बल प्रयोग भइरहेको आरोप लगाएका छन्। उनले यस्तो प्रवृत्तिले लोकतन्त्रको आधारभूत मान्यतामाथि नै प्रश्न उठाएको बताएका छन्।
ओलीले केही दिनअघि कीर्तिपुरमा जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले गरेको व्यवहारको प्रसंग उल्लेख गर्दै उक्त घटनालाई राज्यको दमनकारी मानसिकताको उदाहरणका रूपमा व्याख्या गरेका छन्।
‘एउटा अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गएका थिए। त्यहाँ पुगेकै कारण उनीमाथि प्रहरीले लछारपछार गर्ने, दुर्व्यवहार गर्ने र बल प्रयोग गर्ने काम गर्यो। यो अत्याचारको पराकाष्ठा हो,’ उनले भने।
उनले त्यस घटनाको विरोधमा विराटनगरमा आयोजित शान्तिपूर्ण प्रदर्शनमा समेत प्रशासनले हस्तक्षेप गरेको उल्लेख गर्दै नागरिकलाई आफ्नो असहमति व्यक्त गर्नसमेत नदिने अवस्था सिर्जना भएको आरोप लगाएका छन्।
‘लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्नु नागरिकको अधिकार हो। तर अहिले विरोध गर्न खोज्नेहरूलाई रोक्ने, धम्क्याउने र बल प्रयोग गर्ने प्रवृत्ति बढेको छ। यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीसँग मेल खाँदैन,’ ओलीले भने।
सरकारले आलोचनालाई शत्रुताका रूपमा लिएको आरोप लगाउँदै उनले लोकतन्त्रमा फरक विचार, आलोचना र विरोधलाई सम्मान गर्नुपर्ने बताए। ‘जनताको आवाज दबाएर कुनै पनि सरकार बलियो हुँदैन। लोकतन्त्र संवाद, सहमति र सहिष्णुताबाट चल्छ, दमनबाट होइन,’ उनले उल्लेख गरेका छन्।
ओलीले प्रहरी प्रशासन र राज्यका अन्य निकायलाई कानुन र संविधानको मर्मअनुसार निष्पक्ष रूपमा काम गर्न आग्रह गर्दै राजनीतिक उद्देश्यका लागि राज्य संयन्त्रको प्रयोग गरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले कानुनी शासन कमजोर भए लोकतान्त्रिक संस्थामाथिको जनविश्वास पनि कमजोर हुने चेतावनी दिएका छन्।
उनले वर्तमान सरकारले जनतामा भय र असुरक्षाको वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै नागरिकका मौलिक अधिकारको संरक्षण गर्नु सरकारको पहिलो दायित्व भएको स्मरण गराएका छन्।
कार्यक्रममा ओलीले एमालेले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आफ्नो वेबसाइट र मोबाइल एपलाई थप आधुनिक बनाएको जानकारी दिएका छन्। नयाँ प्रणालीमार्फत पार्टीका नीति, निर्णय, गतिविधि तथा संगठनात्मक सूचना देश–विदेशमा रहेका कार्यकर्ता र सर्वसाधारणसम्म छिटो, सहज र विश्वसनीय रूपमा पुर्याउने लक्ष्य रहेको उनले बताएका छन्।



























































