धरान- सप्तकोशी नदीमा जलप्रवाह उल्लेख्य रूपमा बढेसँगै सुनसरी जिल्ला प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले शुक्रबार कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन्।


ADVERTISEMENT


हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पानीको प्रवाह मापन गरिएको छ। बढ्दो बहावलाई नियन्त्रण र व्यवस्थापन गर्न ब्यारेजका २० वटा ढोका खोलिएको प्रशासनले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रचलित मापदण्डअनुसार कोशी नदीमा जलप्रवाह प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था रहेको छ। अहिले बहाव सो सीमाभन्दा माथि पुगेपछि सम्बन्धित निकायले निगरानी र सतर्कता अझ बढाएका छन्।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाभर बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य योजना पूर्ण रूपमा कार्यान्वयनमा रहेको जानकारी दिएका छन्।

उनका अनुसार विपद् व्यवस्थापनमा संलग्न सबै सरकारी निकाय, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाको भूमिका र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ भने आवश्यक कार्यविधि पनि तयारी अवस्थामा राखिएको छ।

उनले बर्खायाममा सम्भावित विपद्को सामना गर्न उद्धार टोली, राहत सामग्री, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था तथा आवश्यक परे पुनःस्थापनाको तयारीसमेत पूरा गरिएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कोशी ब्यारेज पुल र जोखिमयुक्त तटबन्धहरूको मर्मतसम्भार गरिसकिएको छ। ठूलो बाढीका कारण कुनै स्थानमा कटान, तटबन्धमा क्षति वा अन्य समस्या देखिएमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ।

स्थलगत अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रशासनले कोशी आसपासका बासिन्दालाई नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचना तथा सतर्कता सन्देशको पालना गर्न आग्रह गरेको छ।