काठमाडौं- प्रधानमन्त्री वालेन शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत र संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए।


ADVERTISEMENT

# # #


उनले तीनै तहका सरकारबीच समन्वय गरी जुत्ता उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने तथा नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ र बजार विस्तारमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिए।

छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका थिए। उनीहरूले गुणस्तरहीन तथा सस्तो आयातित जुत्ता–चप्पलले स्वदेशी उद्योग प्रभावित भएको भन्दै आयातित उत्पादनको अनिवार्य गुणस्तर परीक्षण लागू गर्नुपर्ने माग पनि राखेका थिए।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरज बञ्जाडेले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री वातावरण सुनिश्चित भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री शाहले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी स्वदेशी उद्योगको विकास, उत्पादन वृद्धि र रोजगारी विस्तारका लागि आवश्यक पहल गरिने विश्वास दिलाएका छन्।