काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले निवर्तमान सभापति शेरबहादुर देउवा समूह नियमित महाधिवेशन पक्षधरले पाँच बुँदे समझदारी प्रस्ताव सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत देउवा समूहले पार्टी उपसभापति विश्वप्रकाश शर्मामार्फत प्राप्त प्रस्तावमाथि छलफल गरी जेठ १८ गते नै आफ्नो पक्षबाट पाँच बुँदे समझदारी प्रस्ताव पठाएको जानकारी दिएको हो।
निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको उपस्थितिमा प्रस्ताव सार्वजनिक गर्दै पार्टीभित्र सहमति र एकता कायम गर्न आफूहरूले व्यावहारिक समाधान अघि सारेको बताएका छन्।
देउवा समूहको पहिलो प्रस्तावमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिसँग समायोजन गरी सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, दोस्रो प्रस्तावमा सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने भनिएको छ भने तेस्रो प्रस्तावमा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने उल्लेख छ।
देउवा समूहले महाधिवेशनसँग सम्बन्धित नीति तथा व्यवस्थापनका विभिन्न समितिहरू वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्न सकिने लचकता पनि देखाएको जनाएको छ। समूहले पार्टी एकताको हितलाई केन्द्रमा राख्दै यस विषयमा कुनै अवरोध नगर्ने स्पष्ट पारेको छ।
प्रस्तावको अर्को महत्वपूर्ण बुँदामा क्रियाशील सदस्यताको विषय समेटिएको छ। विवाद उत्पन्न हुनुअघि तत्कालीन महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको समितिले टुंगो लगाएका सबै क्रियाशील सदस्यलाई स्वतः महाधिवेशनमा सहभागी गराइनुपर्ने र उनीहरूको डिजिटल इन्ट्री सुनिश्चित गरिनुपर्ने माग गरिएको छ। डिजिटल इन्ट्रीलाई नवीकरणको नाममा महाधिवेशनमा सहभागी हुन पाउने वा नपाउने विषयसँग जोड्न नहुने देउवा समूहको स्पष्ट धारणा छ।
पत्रकार सम्मेलनमा बोल्दै मीन विश्वकर्माले पार्टी एकताका लागि आफ्नो पक्षले अधिकतम लचकता अपनाएको दाबी गरेका छन्। उनले यसअघि भएका सहमतिलाई आधार बनाएर समाधान खोज्नुपर्नेमा जोड दिँदै संस्थापन पक्षले पछिल्लो समय पहिले भएका समझदारीभन्दा फरक प्रस्ताव ल्याएर एकता प्रक्रियालाई जटिल बनाएको आरोप लगाएका छन्।
देउवा समूहले अझै पनि संवाद र सहमतिमार्फत विवाद समाधान गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक एकता र समयमै पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्नु नै सबै पक्षको साझा प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरेको छ।
पार्टीभित्र विशेष महाधिवेशनपछि नेतृत्व, कार्यसमिति गठन, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको मतभेदका बीच देउवा समूहले सार्वजनिक गरेको पाँच बुँदे प्रस्तावलाई कांग्रेसभित्र सहमति खोज्ने नयाँ प्रयासका रूपमा हेरिएको छ।



























































