काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आलोचना गर्दै नेपालमा अहिलेको राजनीति दिशाहीन, विधिविहीन र थितिविहीन ढंगले अघि बढिरहेको टिप्पणी गरेका छन्।


ADVERTISEMENT


आइतबार पार्टीको संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ पछिका राजनीतिक घटनाक्रमपछि मुलुकको राजनीति सही दिशाबाट विचलित भएको दाबी गरेका हुन्।


ADVERTISEMENT

# # #


उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संवैधानिक र कानुनी प्रक्रिया हुँदाहुँदै पनि वर्तमान सरकार हिंसा, तोडफोड, कब्जा र अराजकताका आधारमा बनेको आरोप लगाएका छन्। कुनै पनि विषयमा तर्कपूर्ण बहस गर्नुभन्दा आलोचकप्रति आक्रमण गर्ने प्रवृत्ति वर्तमान सरकारमा देखिएको उनको भनाई छ।

अध्यक्ष ओलीले वर्तमान सरकार जनआन्दोलन वा लोकतान्त्रिक प्रक्रियाबाट नभई विधि र प्रणालीको उल्लंघनबाट बनेको दाबी गर्दै सरकारले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने कामसमेत गरेको आरोप लगाएका छन्।

उनले सरकारले मिटरब्याज पीडितलाई समेत पुनः धोका दिएको आरोप लगाउँदै अर्थतन्त्र सुधार र गरिबी न्यूनीकरणमा सरकार असफल भएको टिप्पणी गरेका छन्। जनताको जीवनस्तर उकास्नुपर्ने सरकार उल्टै समस्यालाई गम्भीर बनाउने दिशामा लागेको उनको आरोप छ।

एमालेलाई योजनाबद्ध रूपमा अलोकप्रिय बनाउने प्रयास भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले जनताका वास्तविक समस्या संसद् र सार्वजनिक मञ्चमा सशक्त रूपमा उठाएर पुनः जनविश्वास जित्न पार्टीका सांसदलाई निर्देशन दिएका छन्।

कार्यक्रममा उनले सूचना प्रविधि र डिजिटल माध्यमको प्रभाव बढ्दै गएकाले एमाले पनि त्यसअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। डिजिटल सञ्चारको प्रभावकारी प्रयोग गर्दै संसद्भित्र र बाहिर पार्टीका धारणा तथा गतिविधिलाई जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन सांसदहरूलाई आग्रह गरेका छन्।

सांसदहरूले पनि डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्दै पार्टीका गतिविधि, संसद्मा उठाइने विषय र जनसरोकारका मुद्दालाई आमनागरिकसम्म थप सशक्त रूपमा पुर्‍याउनुपर्ने सुझाव दिएका छन्।