काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगका समस्या समाधान, उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार छलफलका क्रममा प्रधानमन्त्रीले उद्योगको वर्तमान अवस्था र चुनौतीबारे जानकारी लिँदै विगतमा जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गरेर देशको अर्थतन्त्रलाई सुदृढ बनाउने विषयमा गम्भीर छलफल गरेका थिए।

अध्यक्ष पाण्डेले विभिन्न मन्त्रालयमा रोकिएका तथा अड्किएका उद्योगसम्बन्धी समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको जानकारी दिए।

उनका अनुसार करिब २० वर्षदेखि बन्द रहेका तयारी पोशाक उद्योगहरू पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने सरकारको योजना रहेको छ।

त्यसैगरी, कपडा तथा पोशाक उद्योगलाई सुदृढ बनाउन टेक्सटाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई देशको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।

छलफलका क्रममा अमेरिकातर्फ हुने निर्यातमा देखिएका प्रयोगशाला तथा परीक्षणसम्बन्धी अवरोध हटाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न प्रधानमन्त्रीले निर्देशन दिएको अध्यक्ष पाण्डेले बताएका छन्।