काठमाडौं- पशुपति क्षेत्रमा मंगलबार ऐतिहासिक गंगामाई जात्रा परम्परागत रूपमा मनाइएको छ। प्रत्येक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गंगालाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने परम्परा रहेको छ।
‘गंगामाई पानी देऊ’ भन्ने कामनासहित निकालिने यस जात्राका दिन आकाशबाट वर्षा हुने धार्मिक विश्वास रहिआएको छ।
जात्राअघि पशुपतिनाथ मन्दिरको शिरमा विराजमान गंगामाईको मूर्तिको विधिपूर्वक पूजा गरी आर्यघाटस्थित गंगा मन्दिरमा लगेर महास्नान गराइन्छ। त्यसपछि गंगामाईको मूर्तिलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप झल्कने तीनतले प्यागोडा शैलीको रथमा राखी सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गराइन्छ।
तोप पड्काएर सुरु हुने रथयात्रा गौशाला, देवपाटन, जयबागेश्वरी हुँदै ताम्रेश्वर महादेवको परिक्रमा गरी पशुपतिनाथ मन्दिरको मूलढोकामा पुगेपछि पुनः बज्रघरमा फर्किएर सम्पन्न हुने परम्परा रहेको जात्रा सम्बन्धी जानकारहरूले बताएका छन्।
यस जात्रामा रथमा राजप्रतिनिधिको प्रतीकका रूपमा हनुमानढोका दरबारबाट ल्याइएको मल्लकालीन राजखड्ग राख्ने परम्परा पनि कायम रहेको छ।
गंगामाई जात्रा काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ, जसले वर्षा, समृद्धि र प्रकृतिप्रतिको श्रद्धालाई अभिव्यक्त गर्ने विश्वास गरिन्छ।



























































