काठमाडौं- काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं जिल्लाभित्र ११ हजार ८७ वटा अपराधका घटना दर्ता भएको जनाएको छ। सो अवधिमा विभिन्न अपराधमा संलग्न ८ हजार ५ सय ११ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।


ADVERTISEMENT


शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको उल्लेख गर्दै यस वर्ष अपराधका घटनामा केही कमी आएको बताएका छन्।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुर सम्बन्धी उजुरी दर्ता भएका छन्। त्यसपछि क्रमशः अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी अपराधका घटना बढी रहेका छन्।

अपराध नियन्त्रणमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै एआई क्यामेराको सहयोगबाट ५९ जना फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस अवधिमा १४५ थान हतियार बरामद, ५२ जना हतियारसम्बन्धी अभियुक्त पक्राउ, १७५ फरार कैदी पक्राउ तथा ९४ जना थुनुवा पक्राउ परेका छन्।

त्यस्तै, आर्थिक वर्षभर १ हजार ६ सय ७३ वटा धर्ना, ४४३ विरोध तथा जुलुस आयोजना भएका थिए। तीमध्ये विभिन्न प्रदर्शनका क्रममा ३ सय ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सार्वजनिक सेवा प्रवाहमा अवरोध तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने गतिविधिमा संलग्न ३०९ जनालाई पक्राउ गरी ६१ जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पछिल्लो समय साइबर अपराध र नयाँ–नयाँ अनलाइन एपमार्फत हुने ठगीका घटना तीव्र रूपमा बढिरहेको जनाएको छ। सामाजिक सञ्जालमार्फत हुने साइबर बुलिङ र अनलाइन ठगीले नागरिकको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा नकारात्मक असर पारिरहेको प्रहरीको भनाइ छ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न दैनिक १,१५० देखि १,१८० जना प्रहरी फिल्ड र चेकपोस्टमा परिचालन गरिएको तथा दैनिक २२० भन्दा बढी सवारीसाधनको चेकजाँच हुने गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।