काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ।


ADVERTISEMENT


यस सुविधाअन्तर्गत नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आईएमई बैंकमा व्यक्तिगत बचत खाता अनलाइनबाटै खोल्न सक्नेछन्। यसका लागि आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध लिंकमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले बैंक खाता खोल्ने प्रक्रियालाई थप सहज, छरितो र डिजिटल बनाउनेछ। १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र भएका तथा नागरिक एपमा आबद्ध व्यक्तिले यो सेवा प्रयोग गर्न सक्नेछन्।

खाता खोल्ने क्रममा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट ग्राहकको पूर्वस्वीकृतिसहित सुरक्षित रूपमा प्राप्त गरिने भएकाले विवरण पुनः भर्नुपर्ने झन्झट हट्ने र गोपनीयतासमेत सुनिश्चित हुने बैंकले जनाएको छ।

यद्यपि, खाता सञ्चालनका लागि ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी (Video KYC) मार्फत पहिचान प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। साथै, नागरिक एपसँगको सहकार्यले बैंकिङ सेवालाई थप प्रविधिमैत्री, पारदर्शी र ग्राहकमैत्री बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल ग्लोबल आईएमई बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरी शाखा, एटीएम, शाखारहित बैंकिङ सेवा, एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।