काठमाडौं- दक्षिण एसियामा इन्टरनेट सेवा विस्तार र डिजिटल पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याउने नेपालसहित पाँच देशका इन्टरनेट अग्रदूतहरूलाई काठमाडौंमा सम्मान गरिएको छ।


ADVERTISEMENT


आइतबारदेखि काठमाडौंमा सुरु भएको दक्षिण एसियाली नेटवर्क अपरेटर समूह (SANOG) को ४४औँ सम्मेलनका क्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका इन्टरनेट विकासमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई ‘इन्टरनेट इनाब्लर्स अवार्ड’ प्रदान गरिएको हो।


ADVERTISEMENT

# # #


यस वर्षको अवार्ड नेपालका दिलीप अग्रवाल, भारतका नीरज सोनकर र सुचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्लेलाई प्रदान गरिएको छ।

‘इन्टरनेट इनाब्लर्स’द्वारा जारी विज्ञप्तिअनुसार यी व्यक्तित्वहरूले इन्टरनेट आमसर्वसाधारणसम्म पुर्‍याउन, व्यावसायिक इन्टरनेट सेवाको विकास गर्न तथा दक्षिण एसियामा डिजिटल पूर्वाधार निर्माणमा ऐतिहासिक योगदान दिएका छन्।

नेपालबाट सम्मानित दिलीप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट WorldLink स्थापना गरेका थिए। सानो सुरुवातबाट उनले कम्पनीलाई नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (ISP) का रूपमा विकास गरेका छन्। हाल वर्ल्डलिङ्कको सेवा नेपालका अधिकांश जिल्लामा विस्तार भइसकेको छ भने देशको झण्डै आधा इन्टरनेट ट्राफिक यसको नेटवर्कमार्फत प्रवाह हुने गरेको विज्ञप्तिमा उल्लेख छ।

अग्रवालको नेतृत्वमा वर्ल्डलिङ्कले डायल–अप इन्टरनेटबाट मेट्रो इथरनेट हुँदै देशकै ठूलो फाइबर–टु–द–होम (FTTH) नेटवर्क निर्माण गरेको छ। विशेषगरी कर्णालीलगायत दुर्गम क्षेत्रमा उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तारमा कम्पनीको भूमिका महत्वपूर्ण मानिएको छ। यही योगदानका कारण नेपाल दक्षिण एसियामै उच्च ब्रोडब्यान्ड पहुँच भएका मुलुकमध्ये एक बन्न सफल भएको उल्लेख गरिएको छ।

भारतका नीरज सोनकरले सन् १९९५ मा VSNL मार्फत भारतको पहिलो व्यावसायिक इन्टरनेट सेवा GIAS सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भने सुचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै Bulletin Board System (BBS) मार्फत हजारौँ प्रयोगकर्तालाई डिजिटल सञ्चारसँग जोड्ने काम गरेका थिए।

बंगलादेशका सुमोन अहमद साबिरलाई तीन दशकभन्दा लामो इन्टरनेट विकासमा योगदान तथा BDCOM को विकासमा खेलेको भूमिकाका लागि सम्मान गरिएको हो। भुटानका जिचेन थिन्लेलाई प्रारम्भिक इन्टरनेट पूर्वाधार निर्माण र GSM मोबाइल नेटवर्क विस्तारमा पुर्‍याएको योगदानका लागि अवार्ड प्रदान गरिएको छ।

‘इन्टरनेट इनाब्लर्स’ अवधारणाको सुरुआत कोभिड–१९ महामारीपछि आयोजित पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनबाट भएको हो। डिजिटल अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र सञ्चारलाई सम्भव बनाउने इन्टरनेटको आधार निर्माण गर्ने इन्जिनियर, नेटवर्क अपरेटर र प्रविधि अग्रदूतहरूको योगदानलाई दस्तावेजीकरण र सम्मान गर्ने उद्देश्यले यो पहल सुरु गरिएको आयोजकले जनाएको छ।