काठमाडौं- किशोरीको डिम्ब तस्करी प्रकरणको अनुसन्धानका क्रममा वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा र घटनामा जोडिएकी युवती राधिका गोतामेबीच आर्थिक कारोबार भएको प्रमाण फेला परेको छ।
अनुसन्धानका क्रममा डा. शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई रकम पठाएको देखिने स्क्रिनसट प्रहरीले फेला पारेको स्रोतले जनाएको छ। उक्त आर्थिक कारोबारलाई घटनासँग जोडेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यसैबीच, पीडित किशोरीले डा. शर्माविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दर्ता गराएकी छन्। जाहेरीपछि प्रहरीले उपलब्ध प्रमाण संकलन गर्दै घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा डा. शर्मा हाल विदेशमा रहेको खुलेको छ। उनी विदेश गएको समय, अनुसन्धानसँगको सम्बन्ध र घटनामा उनको संलग्नताबारे प्रहरीले थप विवरण संकलन गरिरहेको बताइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनासँग सम्बन्धित डिजिटल प्रमाण, आर्थिक कारोबार, पीडितको बयान तथा अन्य व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान जारी छ। अनुसन्धान पूरा भएपछि तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरीले हालसम्म प्राप्त प्रमाणका आधारमा अनुसन्धानलाई निरन्तरता दिएको भन्दै कसैको संलग्नता वा दोष कानुनी रूपमा अदालतबाट स्थापित नभएसम्म अन्तिम निष्कर्षमा नपुग्न आग्रह गरेको छ।



























































